कवि तथा गीतकार डम्बर याक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भावहरू” लोकार्पण भएको छ । ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङद्वारा पानसमा बत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो।
प्रमुख अतिथि श्रवण मुकारुङले उक्त कृतिमाथि बोल्दै यक्सोको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल नभएको बताउनुभयो । मुकारुङले भन्नुभयो, “यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् ।
यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ ।” उहाँले “बुध्दले भन्नुभए झैं मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ र निवारणमा पुग्ने बाटो छ । तर बाटो अलग बताए । कवि याक्सोले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरा कवितामा सङ्केत गर्नुभएको” बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, वरिष्ठ संगीतकार दिनेश काजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेती, गोपिकृष्ण प्रसाई र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंकबहादुर चोबेगुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन जीवन मुकारुङले गरेका थिए भने सुस्मिता याक्सो कन्दङ्वाले कार्यक्रम संचालन गर्नुभएको थियो |